विष्णु पौडेल पक्राउबारे महासचिव पोखरेल भनेः डिजीले फोन गरेर भेट्न बोलाए, प्रहरी आएर नियन्त्रणमा लिए

काठमाण्डु टुडे २०८३ असार ९ गते १२:५१ मा प्रकाशित

काठमाण्डू, ९ असार– एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अदृश्य शक्तिकेन्द्रको प्रभावमा भएको कदम भएको बताएका छन ।

सोमबार सुर्खेतमा आयोजित एमालेको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा सहभागी रहेका उपाध्यक्ष पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका छन । पोखरेलका अनुसार सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक (डिजी)ले केही समयअघि पौडेलसँग टेलिफोनमा सम्पर्क गरी ‘भोलि काठमाण्डूमा आएपछि सम्पर्कमा आउनु होला’ भन्ने अनुरोध गरेका थिए ।

तर त्यसको केही समयपछि नै सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिन निर्देशन दिइएको घटनाले अनुसन्धान गर्ने राज्यका निकाय स्वतन्त्र नभई अदृश्य शक्तिकेन्द्रबाट सञ्चालित भइरहेको आशंका पैदा गरेको उनले बताएका छन ।

कार्यक्रमकै क्रममा प्रहरीबाट ताकेता आएपछि पोखरेल र पौडेलबीच केहीबेर छलफल भएको र त्यसपछि पौडेल प्रहरीको गाडीमा गएको जनाइएको छ ।

पोखरेलले भने, ‘राज्यका कुनै पनि न्यायिक अनुसन्धानमूलक निकाय राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुनुहुँदैन ।

अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्छ, कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग हुनुहुँदैन ।’

एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले उपाध्यक्ष पौडेलको गिरफ्तारी यो मान्यताविपरीत भएको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us