
महोत्तरी, ८ असार –१८ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको हलखोरी गाविस–३ बस्ने ६५ वर्षीय बद्रीराय यादव रहेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक बिगन राय यादवको नेतृत्वमा गएको विशेष प्रहरी टोलीले सुराकी आधारमा फरार अभियुक्त यादवलाई निजको घरैबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादवमाथि जिल्ला अदालत महोत्तरीले कुटपिट मुद्दाअन्तर्गत २०५३ असार २३ गते छ महिना कैद र दुई हजार जरिवानाको फैसला गरेदेखि यादव फरार रहँदै आएका थिए ।