काठमाण्डू, ९ असार– लियोनेल मेसीले विश्वकपको सर्वाधिक गोलकर्ता बनेकै दिन आफ्नो नाममा एउटा अप्रिय रेकर्ड समेत बनाए । उनी विश्वकपको इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी समेत बने ।
अस्ट्रियाविरुद्धको खेलमा यी लिजेन्ड अर्जेन्टिनी खेलाडीले पेनाल्टी चुकाउनु उनको विश्वकप करियरको तेस्रो पटक थियो । लाउटारो मार्टिनेज डि–बक्सभित्र लडाइएपछि अर्जेन्टिनाले खेलको नवौँ मिनेटमा पेनाल्टी पाएको थियो ।
३८ वर्षीय मेसी पेनाल्टी प्रहार गर्न अघि सरे । तर दौडिने क्रममा थोरै हच्किएपछि उनले बल गोलकिपरको देब्रे पोष्टको बाहिर प्रहार गरे । आफ्नो यो अविश्वसनीय गल्तीपछि बार्सिलोनाका पूर्वसुपरस्टारले दुवै हातले टाउको समातेर थकथकी मानेका थिए । अर्जेन्टिनाले खेलमा अग्रता लिने मौका गुमेको थियो ।
आठ पटकका बलोन डीओर विजेताले विश्वकपमा पेनाल्टी खेर फालेको यो तेस्रो पटक हो । उनले पहिलो पटक सन् २०१८ मा रुसमा भएको विश्वकपमा आइसल्याण्ड विरुद्धको खेल १–१ को बराबरीमा सकिँदा यस्तो गल्ती गरेका थिए, जहाँ उनको प्रहार आइसल्याण्डका गोलकिपर हान्स हल्डोर्सनले रोकेका थिए ।
त्यसपछि कतार २०२२ मा पोल्याण्डका वोज्सिक सेज्नीले मेस्सीको पेनाल्टी रोके । ‘द एथलेटिक’ का अनुसार, अस्ट्रिया विरुद्धको यो पेनाल्टी मिस मेस्सीको करियरमा (पेनाल्टी सुटआउट बाहेक) १४९ प्रयास मध्ये ३३ औँ पटक थियो, जसले गर्दा उनको पेनाल्टी सफल दर ७७ प्रतिशत रहेको छ । मेस्सीको करियरको सबैभन्दा चर्चित पेनाल्टी मिस सन् २०१२ को च्याम्पियन्स लिग सेमिफाइनलमा भएको थियो, जहाँ बार्सिलोना चेल्सीसँग पराजित भएको थियो ।
यद्यपि, कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा उनले चारवटा पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । यसमा फ्रान्स विरुद्धको फाइनलको पेनाल्टी र त्यसपछिको पेनाल्टी सुटआउटको गोल पनि समावेश थियो । अर्जेन्टिनी कप्तानले गत हप्ता अल्जेरिया विरुद्ध गरेको ह्याट्रिकले उनलाई विश्वकपमा १६ गोल गर्ने मिरोस्लाभ क्लोसको कीर्तिमानसँग बराबरीमा पुर्याएको थियो ।
अस्ट्रिया विरुद्धको सुरुवाती पेनाल्टी मिसपछि उनले यो कीर्तिमान एक्लै आफ्नो नाममा लेखाउने मौका तत्काललाई गुमाए । तर, उनले धेरैबेर पर्खिनु परेन । खेलको ३८ औँ मिनेटमा अलेक्ज्याण्डर स्क्लागरलाई छक्याउँदै मेस्सीले गोल गरेर अर्जेन्टिनालाई १–० को अग्रता दिलाए र क्लोसलाई उछिनेर इतिहास रच्न सफल भए ।
त्यसपछि उनले दोस्रो हाफको इन्जुरी समयमा पुनः गोल गर्दै कीर्तिमानलाई अझ फराकिलो बनाए र आफ्नो टोलीलाई २–० को जित दिलाए । त्यसो त मेसीले राखेको सर्वाधिक गोलको कीर्तिमान यसै प्रतियोगितामा फेरि परिवर्तन हुन सक्छ, किनकि इराक विरुद्धको खेलमा दुई गोल गरेका फ्रान्सका किलियन एमबाप्पे मेस्सीभन्दा मात्र दुई गोलले पछाडि छन् ।