
काठमाण्डु, १० माघ– ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् ।
त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।
सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन् । यद्यपि, आइतबार राति अबेरसम्म फेला परेको छैन । तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन् ।