ओलीले कुनै हालतमा संसद चल्न नदिने

काठमाण्डु टुडे २०७८ असोज १५ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, १५ असोज– प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।

संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो ।

आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन् । प्रधानमन्त्री हुँदा पनि उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए । उनको कदमलाई दुईपटक नै सर्वोच्च अदालत अवैध ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो । ओली अहिले पनि संसद् चल्न नदिने रणनीतिमा छन् ।

पार्टीका असन्तुष्ट १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै एमालेले संसद् चल्न दिएको छैन । सत्ताबाट बाहिरिनुपरेको आक्रोश एमालेले संसद् बैठक चल्न नदिएर पोखेको कांग्रेसका एक नेताले बताए । ‘माधव नेपालसहित १४ जनालाई कारबाही गरिएन भन्ने एमालेको बहानामात्र हो,’ ती नेताले भने, ‘पाँच वर्ष ढुक्कले सत्तामा बसिन्छ भन्ने थियो । तर उहाँहरू आफ्नै कारणले सत्ताच्युत हुनुभयो ।  त्यसको आक्रोश पूर्वप्रधानमन्त्री ओलीमा देखिन्छ ।’ नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us