रघुजी पन्तलाई क्षमा गर्न सक्दिनः वली

काठमाण्डु टुडे २०७७ फागुन २५ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, २५ फागुन– राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वलीले एमाले नेता एवं पूर्वमन्त्री रघुजी पन्तलाई क्षमा दिन नसकिने बताएकी छन् ।

पन्तविरुद्ध मंगलबार काठमाण्डु जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वलीले आफूमार्फत महिलाहरुको अपमान गरेकाले पन्तलाई माफी दिन नसक्ने बताइन् । सञ्चारकर्मीको एक जिज्ञाशामा वलीले पन्तले आफूसँग माफी नमागेको उल्लेख गरिन् ।

‘उहाँले मसँग माफी माग्नुभएको छैन, मेरो आशय गलत होइन भन्नुभएको छ’, वलीले भनिन् । गत १५ फागुनमा भएको एक कार्यक्रममा पन्तले सेतो पिँडुला देखाएर नाचेकै आधारमा वलीलाई प्रधानमन्त्री केपी ओलीले पार्टी केन्द्रीय सदस्य र राष्ट्रियसभा सदस्य बनाएको तर, जीवनभर पार्टीमा संघर्ष गरेर गाला चाउरी परेका नेतृहरुलाई पाखा लगाएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिविरुद्ध वलीले मंगलबार चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा उचित क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा रिट दायर गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us