रामकुमारी झाँक्री पक्राउ प्रकरणः सरकारी गाडी गुड्न रोक !

काठमाण्डु टुडे २०७७ माघ २९ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, २९ माघ– नेकपाको प्रचण्ड–नेपाल समर्थित विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे सरकारी गाडी सडकमा गुड्न नदिने चेतावनी दिएको छ ।

झाँक्री पक्राउको विरोधमा माइतीघर मण्डलामा बिहीबार साँझ आयोजित विरोध प्रदर्शनमा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले अभिव्यक्ति स्वतन्त्रताका आधारमा पक्राउ गर्ने सरकारको रबैया निरंकुश र अलोकतान्त्रिक भएको बताए ।

‘आज घामको उज्यालोमा चर्चित नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे भोलिदेखि सरकारी गाडी चल्न दिँदैनौं’, बस्नेतले भने, ‘आमहड्तालसम्मका कार्यक्रम गर्ने चेतावनी दिन चाहन्छौं ।’

झाँक्री पक्राउको सर्वत्र विरोध भएपछि अत्तालिएका केपी ओलीले आफ्ना समूहका व्यक्तिहरुलाई बालुवाटार बोलाएर अब के गर्ने भन्नेबारे छलफल गरेको दाबी बस्नेतले गरे ।

एउटा रामकुमारीलाई पक्राउ गर्दैमा निरंकुशताविरोधी आन्दोलन कमजोर नहुने, बरु ओली सत्ताविरुद्ध हजारौं रामकुमारीहरु प्रकट भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us