चिनेकालाई योग्य भए पनि भोट नदिने, नचिनेकालाई जस्तो भए पनि भोट हाल्ने मनोविज्ञान विकास भयोः रिजाल

काठमाण्डु टुडे २०८२ असार २२ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, २२ असार– काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले मतदाताको मनोविज्ञान खल्बलिएको बताएका छन् ।

सानेपामा जारी काँग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले ०८४ को निर्वाचनमा नसोचेको परिणाम आउन सक्ने बताए ।

उनले मतदातामा चिनेका अनुहारप्रति वितृष्णा बढेको स्वीकार गरे ।

‘जतिसुकै राम्रो र योग्यतम भए पनि चिनेका उम्मेदवारलाई भोट नहाल्ने, तर जतिसुकै असक्षम र काम नलाग्ने भए पनि नचिनेकालाई भोट हाल्ने मनोविज्ञान मतदातामा देखिएको छ’, रिजालले भने ।

रिजालले विद्यमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने भएकाले संविधान संशोधनमा उक्त विषय समावेश गर्न नेतृत्वलाई सुझाए ।

‘यही निर्वाचन प्रणाली राखेर चुनावमा जाँदा कसैको पनि बहुमत आउँदैन’, उनले भने, ‘यसले गर्दा कुनै न कुनै दलसँग चुनावी गठबन्धन गर्नैपर्ने अवस्था छ ।’

फरक प्रसंगमा रिजालले पार्टीमा बहुमतको आडमा फरक मत राख्नेमाथि कारबाही गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसले अराजकता निम्त्याउने तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us