
काठमाण्डू, २२ असार– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मेयर बालेन्द्र साह (बालेन) ले आफूमाथि लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाण्डू टावरको नक्सा पास गर्ने क्रममा आफूले भ्रष्टाचार नगरेको बताए ।
मेयर साहले गुरागाईंले भ्रष्टाचार गरी मापदण्डविपरीत काठमाण्डू टावरको नक्सा पास गरेको आरोप लगाउँदै आएका छन् ।
गुरागाईंले आफूमाथिका आरोप निराधार, कपोलकल्पित र चरित्र हत्या गर्ने मनसायबाट प्रेरित रहेको बताए । ‘कसैले तँ भ्रष्टाचारी होस् भन्ने बित्तिकै कोही भ्रष्टाचारी हुँदैन’ , ‘गुरागाईंले भने, ‘व्यक्ति तोकेर बिना कुनै आधार तँ भ्रष्टाचारी होस् भनेर तोक्न मिल्छ ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि ।’
गुरागाईंको संलग्नतामा बजेट बन्न नसक्ने बालेनको अडानका कारण महानगरले हालसम्म बजेट ल्याउन सकेको छैन ।
उनले आफू आउनुअघि नै प्रक्रियामा रहेको काठमाण्डू टावरको नक्सा प्रक्रिया अघि बढाएको प्रष्टीकरण दिएका छन् ।
‘मैले पहिला भएका निर्णयहरूलाई इन्डोर्स मात्रै गरेको हुँ । नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ गुरागाईंले भने, ‘मैले पहिलाका निर्णयलाई निरन्तरता मात्रै दिएको हो। त्यसमा मेरो दोष छैन ।’
राज्यको छानबिन गर्ने आधिकारिक निकायले नियम, कानून र प्रक्रियामा आफ्नो कमजोरी औंल्याए कारबाही भोग्न तयार रहको उनको भनाइ थियो ।
गुरागाईंले आफ्नो कारणले बजेट नरोक्न माग गर्दै बजेट ल्याउने वातावरण बनाउन सहजीकरणका लागि तयार रहेको पनि बताए ।
काठमाण्डू टावरको नक्साको कारण देखाएर बजेट रोक्नु कुनै पनि अर्थमा सही नभएको तर्क उनले गरे ।
गुरागाईंले बालेनको सचिवालयको हवाला दिँदै आफ्नो चरित्र हत्याको प्रयास जारी रहेको बताए ।
मेयर साहको सचिवालयको काम कसैलाई भ्रष्टाचारी करार गर्ने नभएको पनि उनले स्पष्ट गरे ।