
काठमाण्डू, २२ असार– कांग्रेस नेता डा.शशांक कोइरालाले संविधानमा भएको धर्म निरपेक्षताको प्रावधान हटाएर त्यसको ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका छन् ।
जारी काँग्रेस केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले धार्मिक स्वतन्त्रताको पक्षमा काँग्रेस उभिनुपर्ने प्रस्ताव राखेका हुन् ।
संविधान संशोधन गर्दा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव कोइरालाको थियो ।
उनले काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा भएको ७ बुँदे समझारीअनुसार संविधान संशोधनको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।
यस्तै उनले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तनको आवश्यकता औंल्याए ।
यही निर्वाचन प्रणाली कायम रहँदा कुनै पनि दलको बहुमत नआउने र मुलुकमा राजनीतिक स्थायित्व नहुने तर्क कोइरालाले गरे ।
प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभालाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजानुपर्ने धारणा कोइरालाको थियो ।