कृषि कार्यालयले उल्टो सिकाएर खाद्य असुरक्षा बढायो

काठमाण्डु टुडे २०७१ जेठ १ गते ११:२२ मा प्रकाशित

जुम्ला, १ जेठ – जिल्ला कृषि विकास कार्यालय जुम्लाले दिएको औषधिले किसानको धानको बेर्ना नष्ट भएको छ । तातोपानी–५ सुन्दर गाउँमा गत चैत १९ गते बेर्नामा औषधि छर्दा धानको बीउ नष्ट भएको हो ।

जिल्ला कृषि विकास कार्यालयले एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरी औषधि प्रयोग गर्ने विधिका बारेमा जानकारी दिएको थियो । जसअनुसार एक पाथी धानको बीउमा एक चम्चा औषधि किसानले प्रयोग गरेको स्थानीय मुनबहादुर डाँगीले जानकारी दिए ।

कृषि कार्यालयका कर्मचारीले धानको बीउलाई भिजाएर बेर्ना छर्दा औषधि मिसाएर छर्कन भनेका थिए– डाँगीले भने, “औषधिले बीउ उम्रदै कुहिँदै गरेको छ ।”

अर्का स्थानीयवासी हरिभक्त परियारका अनुसार बेर्नामा औषधि छरिसकेपछि सुरुमा पलाउँछ, बोटले जरा हाल्दैन, टुप्पोबाट सुक्दै जान्छ । गत वर्ष किसानले आफ्नो बलबुतोले भ्याएसम्म परम्परागत चलनअनुसार धानको बेर्ना राख्दा राम्रै हुन्थ्यो तर अहिले सत्यानाश भयो– उनले भने ।

धान रोप्ने समय नजिकिँदै गर्दा बेर्ना सुकेर खाली हुने अवस्थामा रहेकाले खेतमा के रोप्ने चिन्ताले किसानलाई पिरोलिरहेको छ । कृषि कार्यालयले किसानलाई उल्टो सिकाएर खाद्य असुरक्षा बढाइरहेको आरोप किसानले लगाएका छन् ।

रोपाइँको सङ्घारमा आएकाले किसानलाई निकै पीडा भएको छ । जम्मा १२१ घरधुरी रहेको सुन्दर गाउँमा झन्डै ७० भन्दा बढी घरको बेर्ना सुकेर नष्ट भइसकेको छ । एक घरपरिवारले न्यूनतम तीन मुरीदेखि अधिकतम ५० मुरी खेतमा धान लगाउने गर्छन् ।

गएको वर्ष असिनाले धानबाली नष्ट गरेपछि कृषिले प्रतिघरपरिवार एक केजी धान वितरण गरेको थियो । त्यही धानको पनि सही सदुपयोग गर्न नपाएको गुनासो स्थानीयको छ ।

‘‘जेठ महिनाको १८ गतेसम्म ज्युलामा रोपाइँ सुरु हुन्छ, घरको बेर्नामा धानको बीउ छैन सन्ताप छ’’ स्थानीय लोग डाँगीले थपे । त्यही गाउँमा औषधि प्रयोग नगरेको बेर्ना भने हरियो छ ।

त्यहाँका किसानले प्राङ्गारिक गाविस घोषणा गरेदेखि झारनासक रासायनिक औषधिसमेत खेतमा प्रयोग गरेका छैनन् । व्युटोकोलर नामक औषधि छर्कनेलाई पहिलो पटक रु १०० र दोस्रोपटक ५०० जरिवाना गर्ने गरिएको थियो ।

यही बेर्नाको बीउबाट यहाँका किसानलाई छ महिनादेखि १० महिनासम्म खान पुग्छ । बीउको अनुगमन गर्न र वैकल्पिक उपाय दिन कृषि कार्यालयलाई बारम्बार आग्रह गरे पनि कृषि कार्यालयले सुनुवाई गरेको छैन । कृषि कार्यालयले दुई प्रकारको औषधि प्रयोग गर्न भनेको थियो । पीडित किसान आफन्त र नातेदारसँग धानको बीउ सङ्कलनका लागि गुहार माग्ने सुरमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us