
काठमाण्डु , २७ भदौ -सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उहाँको भनाइ छ ।
सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका ‘पार्टपूर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ ।उनले भने, चाडपर्व सकिएपछि नै दुवैलाई आधार मानेर अध्ययन गरेपछि भाडा समायोजन गरिनेछ ।
राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भने नियमितरूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताए । विभागले नियमितरूपमा समायोजन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, सात वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुनसकेको छैन, यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन ।
विभागले गएका जेठ महिनामा भाडादर वृद्धि गरे पनि त्यो निर्णय पाँच घण्टामै फिर्ता लिएको थियो । बर्सेनि दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि लक्षित गर्दै अग्रिम टिकट खुलाउँदा भाडा समायोजनको विषयष्य उठ्ने गरेको छ ।