
काठमाण्डु, ११ साउन– प्रधानमन्त्री केपी ओलीको बुद्धि बंगारा फुस्किएको छ ।
ओलीको शुक्रबार राति बालुवाटारमा बुद्धिबंगारा झरेको हो । त्यसबारे शनिबार आयोजित एक कार्यक्रममा ओली आफैंले जानकारी दिए । ओलीले दाहिनेतर्फको माथिल्लो भागको बंगारा झरेको र सोही कारण आफू असक्तजस्तो भएको जानकारी दिए ।
काठमाण्डुको बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटनका क्रममा प्रधानमन्त्रीले बंगारा भरे पनि रगत भने नआएको बताए । यद्यपि आफू अस्थायी बिरामी परेको ओलीको भनाइ थियो । ‘हिजो (शुक्रबार) बेलुका मेरो दिहिने पट्टिको माथिल्लो भागको बुद्धि बंगारा आफैं खुस्कियो’, ओलीले भने, ‘छामेर हेरेँ । जरा पनि रहेनछ । रगत पनि आएन ।’
कार्यक्रममा निर्धारित समयभन्दा एक घण्टा ढिलो कार्यक्रममा पुगेका ओलीले असशक्त भएर ढिला भएको र असशक्त दाबी गर्नेले एक घण्टा लामो भाषण गरेको भन्दै कुरा काट्न सक्ने सम्भावना रहेकाले यथार्थ घटना सुनाएको बताए । ओलीले आफ्नी १ सय १ वर्षकी हजुरआमाले भुटेको मकै भटमास चपाउने गरेको चर्चा गर्दै आफ्नो भने ६८ वर्षकै उमेरमा बुद्धिबंगारा झरेकामा दुःख मनाउन गरे ।