बर्दिबासमा डाँका आतंक, डाँका र गाउँलेबीच भिडन्त

काठमाण्डु टुडे २०७६ असार १९ गते ११:३८ मा प्रकाशित

महोत्तरी, १९ असार– महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गएराति बर्दिवास नगरपालिका–६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो ।

बर्दिवास– ७ का रामसुनर महतो र बर्दिबास–६ का चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै सोही क्रममा स्थानीय वडहरिखोलामा गाउँले र डाँकाबीच केहीबेर झडपसमेत भएको र सोही क्रममा तीन गाउँले घाइते भएका छन् ।
गाउँलेले डाँकाको समूहमध्ये एकलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा सर्लाही चन्द्रपुर नगरपालिकाका ४० वर्षीय देवनारायण कापड रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता भिडन्तमा परी स्थानीयवासी घरमुली चन्देश्वर महतो, उनकी श्रीमती जेयवती देवी र २७ वर्षीय छोरा उमेश महतो घाइते भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us