
काठमाण्डु, १९ असार– गुण्डागर्दीका नामोद नाइकले राजीव गुरुङ सत्तारुढ नकेपा प्रवेश गरेका छन् ।
गुरुङ हाल मनाङबाट गण्डकी प्रदेशका सांसदसमेत हुन् । नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उनलाई पार्टी प्रवेश गराए । गुरुङले टीका र खादाले स्वागत गरे । यस्तै उनले पार्टी विधान पनि हस्तान्तरण गरे । दरबार शक्तिमा हुँदा मनाङे नारायणहिटीको संरक्षणमा ठमेल क्षेत्रमा गुण्डागर्दी गर्थे । पछि काँग्रेससँग नजिकिए । राजधानीमा एमाले र काँग्रेसको बेलाबेला हुने झडपमा काँग्रेसको पक्षबाट धेरै एमालेलाई कुटेका छन् गुरुङले । गत निर्वाचनमा मनाङेलाई नेकपाले प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो ।
तर, फौजदारी अभियोग लागेकालाई उम्मेदवार बनाएको भन्दै विरोध भएपछि नेकपाले देखिने गरी उनलाई बोकेन । तर, चुनाव नेकपाकै भोटले जिते । चुनाव जिते पनि लामो समय उनी भूमिगत रहे । कारण, फौजदारी अभियोगमा उनलाई उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । पछि उनी पुनरावेदनका लागि सर्वोच्च गए । सर्वोच्चले थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि गुरुङलाई प्रदेश सभा सदस्यको सपथ खुवाइएको थियो ।