
काठमाण्डु, १८ असार–मान्छे एउटाले समाउँछ, अर्कोले त्यही मान्छे उम्काएर लैजान्छ। यस्तो देखियो, काठमाण्डुका पुलिस–पुलिसबीच। युवतीहरुलाई सिरिञ्ज हान्दै हिँड्ने रामेछापका सन्तोष कार्कीलाई एउटा टोलीले शनिबार डल्लुबाट समात्यो । तर, अर्को टोली ‘समाएको मान्छे यही हो’ भन्दै मिडियामा आएपछि प्रहरी–प्रहरीबीच तँ–तँ र म–म चलेको छ ।
त्यसदिन बेलुकी पौने सात बजे अपराध महाशाखाको ६ नं. पिलरलाई कुनै सुराकीले फोन गरेर भन्यो, ‘सिरिञ्ज हान्ने मान्छे चढेको मोटरसाइकल यहाँ छ।’ भनिएको ठाउँ थियो, महाराजगञ्जतिर । तुरुन्तै त्यो मोटरसाइकल नियन्त्रणमा नलिए अपराधी फुत्किने कारण अपराध महाशाखाले मेट्रो पुलिसकै सञ्चारसेटमा खबर रिले गर्यो। त्यसअनुसार महाराजगञ्जको मोबाइल ड्युटी आगलागी भएको ठाउँमा हुनाले त्यहाँका एकजना हवल्दार गएर मोटरसाइकल नियन्त्रणमा लिए । केही समययता अपराध महाशाखाले दैनिक रातिको ड्युटी हाल्ने गरेको छ, डिएसपीको कमाण्डमा, २० जनाको टुकडीलाई । त्यसक्रममा शनिबार पालो परेको थियो, दुर्गा दाहालको । त्यही दिन यही केसको अनुसन्धानमा खटिएका दीपेन्द्र चन्द, गजेन्द्र रावलहरुको टोली पनि डल्लु पुगेको थियो । अपराध महाशाखाको ‘इण्डिया कन्ट्रोल’ ले त्यो टोलीलाई मान्छेको पहिचान खुलेको खबर गर्यो। र, सन्तोष कार्कीलाई समात्यो । उनले पहिला ‘हैन–हैन’ भन्दै थिए । तर, सिसिटिभी फुटेज देखाएपछि असिन–पसिन हुँदा त्यो मान्छे आफू नै भएको स्वीकारे । यतिञ्जेलमा टेकुस्थित प्रहरी परिसरका इन्स्पेक्टर राजन लामा पनि पुगिसकेका थिए । राजनले आफ्ना कमाण्डर डिएसपी होविन्द्र बोगटीलाई तत्कालै सूचित गरे ।
होविन्द्रचाहिँ ‘धर्तिमाता’ खोज्न दौडिरहेका थिए । यो खबर सुन्नासाथ उनी डल्लु पुगे । त्यतिबेला अपराध महाशाखाका डिएसपी दुर्गा मान्छे समातिएकोबारे हाकिमलाई जाहेर गरिरहेका थिए । उनी फोनमै व्यस्त भएको बेला होविन्द्र पुगेर पक्राउ परेका सन्तोषलाई आफ्नो गाडीमा हाले । दुर्गाले फोन राखिसक्दा समातेको मान्छेसहित परिसरको टोली हुइँकिसकेको थियो । राजधानीमा सनसनी फैलिएको एउटा घटनाका कसुरदार समातिएपछि गृहमन्त्रीदेखि आइजिपीसम्मले अपराध महाशाखालाई फोन गर्दै थिए, तर समातेको मान्छे अर्कैै युनिटले लगेपछि दुई युनिटका हाकिमबीच भनाभन शुरु ‘काम हामी गर्ने, नाम तिमीहरुलाई चाहिने ?’ एकजना डिएसपी यसो भनेर परिसरको टोलीसँग कराए । परिसरको टोलीले जवाफ दियो, ‘समातेको मान्छेलाई तपाईंले घर लाने हैन, हिरासतमै राख्ने हो । हिरासत तपाईंहरुको छैन, हाम्रैमा राख्ने हो क्यारे।’ यसक्रममा प्रहरीबीच यहाँ लेख्न नमिल्ने भाषामा भनाभन पनि चल्यो । जनआस्था साप्ताहिकबाट