
काठमाण्डु, १७ असार–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत पुत्र प्रकाश दाहालको अल्पायुमै निधन भए पनि उनले पूर्ण जीवन बिताएको बताएका छन् ।
३६ वर्षमै पूर्ण जीवन बिताएका प्रकाश एक कुशल योद्धा र व्यवस्थापक भएको स्मरण गरे । आफू दोश्रोपटक प्रधानमन्त्री हुँदा प्रकाशले जिम्मेवारीपूर्ण र कुशल भूमिका खेलेको र उनकै कारण आफू सफल भएको भन्दै प्रचण्ड भावुक भए । ‘प्रकाश मेरो छोरा मात्र होइन, एउटा असल साथी र योद्धा थिए’, प्रकाश दाहालको ३८ औं जन्मजयन्तीका राजधानीमा मंगलबार आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रममा प्रचण्डले भने, ‘छोटो समयमा रचनात्मक काम गरेका प्रकाशको मृत्युले मुलुकलाई स्तब्ध पारेको छ ।’ प्रकाश दाहाल स्मृति प्रतिष्ठानले गरेको उक्त कार्यक्रममा प्रचण्डले प्रकाशका बाँकी सपना पूरा गर्न सक्रिय हुन प्रतिष्ठानलाई आग्रह गरे ।
प्रकाशलाई जनयुद्धका समयमा सुरक्षाका कारण विद्यालय फेरिफेरि विद्यालय तहको अध्ययन गराउनुपरेको प्रचण्डल सम्झिए । जनयुद्धदेखि दोश्रो प्रधानमन्त्रीत्वकालसम्म आउँदा प्रकाशले आफ्नो सचिवालयमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको र उनको अभाव खड्किइरहेको बताए । प्रचण्डले प्रकाशले सगरमाथा चढ्छु भन्दा आफूले विश्वास नगरेको बताए । तर, चाहेको काम गरेरै छाड्ने स्वभावका कारण सगरमाथा चढेरै छाडेको उल्लेख गरे । ‘गर्छु भनेको काम गरिछाड्ने बानी थियो, अरुलाई पनि उत्साह र प्रेरणा दिने गर्थे’, प्रचण्डले भने, ‘प्रकशका राम्रा गुण र पक्षलाई देश र जनताका लागि समर्पित गर्नुपर्छ ।’