
काठमाण्डु, १ असार – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराई यस्तो प्रस्ताव गरेका हुन् ।
उनले सत्तापक्षले गुठी विधेयक सम्बन्धित पक्षलाई बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्ने कोशिस नै नगरेको बताएका छन् ।केही गलत पक्षले गुठी विधेयकको आन्दोलनमार्फत साम्प्रदायिक सद्भावमाथि धावा बोल्न खोजेको उनको आरोप छ ।
‘बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन्’, सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले लेलेका छन्, ‘आगोमा रोटी सेक्न अवान्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनु भयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू ।’
आठ दिने युरोप भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याउन सकिने बताएका थिए ।