
काठमाण्डु, २८ जेठ – गुठी विधेयकको विरोधमा माइतीघर मण्डलमा भएको प्रदर्शनमा भएको दमनबारे सदनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जवाफप्रति सांसदहरूले प्रतिपश्न गरेका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकको शुरूमै गृहमन्त्री थापाले सार्वजनिक आवागमनमा अवरोध गरेका कारण प्रहरीले सामान्य बल प्रयोग गरेको जवाफ दिएका थिए ।
मन्त्री थापाले प्रदर्शनकारीले ढुंगामुढा गरेको दावी गरेका थिए । गृहमन्त्री बादलको जवाफ चित्त बुझ्दो नभएको तथा सदनलाई ढाँटेको भन्दै कांग्रेस सांसदले मन्त्री थापासँग प्रतिपश्न गरे ।
बालकृष्ण खाणले प्रश्न गरे, ‘गिरफ्तार भइसकेका व्यक्तिलाई पनि लात्तैलात्ताले हालेको छ, यसमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिने कि नलिने ?’
कांग्रेसकै पुष्पा भुसालले मण्डलामा भएको घटना सम्बन्धमा सरकारले खेद व्यक्त गर्नुपर्ने बताइन् । डिला संग्रौलाले प्रश्न गरिन्, ‘गुठीयारमाथि आक्रमण गरेर सरकारले नेपाली समाजको आस्था र विश्वासमाथि प्रहार गर्यो, के सरकार अधिनायकवादी शैलीमा जान खोजेको हो रु’
सत्तारुढ समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठले गुठीको व्यवस्थापन गर्ने कुरा संस्कृति मन्त्रालयबाट आउनुपर्नेमा भूमि सुधार मन्त्रालयबाट आउँदा समस्या निस्किएको बताए । श्रेष्ठले प्रश्न गरे, ‘सभ्यता र संस्कृतिमाथि आक्रमण गरेर अरिंगालको गोलोमा ढुंगा हान्ने ?’
कांग्रेसका देवप्रकाश तिमल्सिनाले प्रश्न गरे, ‘शाहीकालजस्तै जनता निस्कन नपाउने कहिले हो रु आफ्ना माग माग्न नपाउने कुन लोकतन्त्र हो ?’ उनले गृहमन्त्रीले सदनमा झूट कुरा गरेको दावी गर्दै प्रश्न गरे, ‘प्रदर्शनकारीलाई लात्तिले हानिएको फोटो सभामुखले हेर्नुभएको छैन, गृहमन्त्रीले सत्य कुरा सदनमा बोल्नुपर्यो ।’
कांग्रेसकी पार्वता डिसी चौधरीले मण्डलामा भएको घटना सम्बन्धमा छानविन समिति गठन गर्न माग गरिन् ।
सांसदको जवाफमा गृहमन्त्री थापाले घटनाको नैतिक जिम्मेवारी सरकारले लिने बताए । ‘त्यहाँ जे कमी कमजोरी भएका छन्, त्यसको छानबिन हुनुपर्छ भन्ने पक्षमा सरकार छ,’ मन्त्री थापाले भने, ‘शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो कि भन्ने जिज्ञासा र प्रश्न तथ्यले सावित गर्दैनन् । दमन भयो भन्ने कुरा गलत हो ।’