
काठमाण्डु, १४ जेठ– नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’ को पहिलो भिडियो सार्वजनिक गरेका छन् ।
अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरु गरेका हुने । कूटनीतिज्ञले नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्ने समाचार बाहिरिएपछि परराष्ट्र मन्त्रालयले गत साता राजदूत बेरीलाई स्पस्टीकरणमा बोलाएको थियो । श्रोतका अनुसार परराष्ट्र सचिव शंकरदास बैरागीले राजदूत बेरीलाई गफगाफ कार्यक्रममा ‘पुनर्विचार’ गर्न आग्रह गरेका थिए । सामाजिक सञ्जालमा सोझै प्रश्नोत्तर गरिने कार्यक्रम रहेकाले राजदूत बेरीको कदम ‘कूटनीतिक परम्परा र मर्यादा बाहिर’ भनेर आलोचना पनि भएको थियो । ‘प्रश्नकर्ताको सरोकार र जिज्ञाशा अनेक हुन सक्छन्, त्यसमध्ये छनोट गरेर मात्रै प्रश्नोत्तर सम्भव छ’, सोमबार राजदूत बेरीको पहिलो भिडियो सार्वजनिक गरेलगत्तै दूतावासका एक अधिकारीले भने, ‘यस्ता भिडियो नियमित रुपमा आउन सक्नेछन् । सबैमा रेकर्डेड र सम्पादित श्रव्यदृश्य हुनेछ ।’ राजदूतको भिडियो आफूखुसी सार्वजनिक भइसकेपछि भने परराष्ट्र मँत्रालयका अधिकारीले यसबारेमा प्रतिक्रिया दिन चाहेनन् । कान्तिपुर दैनिकबाट