सांसदलाई पैसा होईन, योजना दिनुपर्छः चन्दा चौधरी

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले आफूहरुले दश करोड पैसा नमागेको स्पष्ट पारिन् ।

उनले भनिन्,‘पैसाको साटो सांसदहरुलाई योजना दिनुपर्छ । हामीले योजना पाउनुपर्छ । हामी सांसदलाई दश करोड पैसा दिनुपर्छ भन्ने पक्षमा छैनौं ।’

सोमबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले निर्वाचित र समानुपातिक सांसद दुवैलाई हरेक क्षेत्रमा बराबर योजना दिनुपर्ने माग गरे । उनले नेपालमा बजेट हरेक वर्ष फ्रिज हुने गरेको भन्दै त्यसतर्फपनि सोच्नुपर्ने सुझाईन् । उनले प्रश्न गरिन्,‘नेपालमा सधैं किन बजेट फ्रिज हुन्छ ? जति काम गर्ने हो त्यतिमात्रै बजेट ल्याउनुपर्छ । बजेट बनाउँदा प्राथमिकता तोक्नुपर्छ ।’

उनले बजेट ल्याउँदा प्रसादजस्तो छर्ने काम गर्न नहुनेपनि बताईन् । उनले भनिन्,‘हामीले खुद्रा कामभन्दापनि होलसेलमा ठूलो योजनाहरुको काम गर्नुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्छ । जस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा छ, यसमा विशेष ध्यान दिनुपर्छ । अहिले एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यात्रुहरुलाई ठूलो मार परेको छ ।’

चौधरीले युवा तथा महिलाहरुलाई रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने सुझाव सरकारलाई दिईन् । उनले भनिन्,‘भत्ता दिएर समस्याको समाधान हुँदैन् । विदेशिएका युवाहरुलाई रोक्नुपर्छ । उनीहरुलाई स्वदेशमै कसरी राख्न सकिन्छ ? भनेर सोच्नुपर्छ । र, त्यहीअनुसारको बजेट ल्याउनुपर्छ ।’

उनले प्रत्यक्ष निर्वाचित र समानुपातिक दुवै सांसद बराबर भएकोले भेदभाव गर्न नहुने धारणा राखिन् । विकास हुन नसकेको क्षेत्रलाई सरकारले बजेटमा विशेष महत्व दिनुपर्ने पनि उनको भनाई छ । उनले कृषि औजार उद्योग, चिनी मिल र चुरोट कारखानाजस्ता कुरामा सरकारले ध्यान दिनुपर्नेपनि बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us