
काठमाण्डु, १३ जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा सोमबार आफू आउन दस मिनेट ढिला भएको बताएका छन् ।
उनले राजधानीको कोटेश्वरमा अरु बेला भन्दा बढी जाम भएका कारण आफू ढिला भएको उल्लेख गरेका हुन् । ‘म आज दस मिनेट ढिला आएँ, कोटेश्वरको जाम अन्य दिनभन्दा बढी थियो’, भक्तपुरका बासिन्दा रहेका बस्नेतले भने, ‘विप्लव समूहको बन्द जनताले अस्वीकार गरेको प्रमाण हो यो ।’
बस्नेत बोलेलगत्तै प्रतिपक्षीका सांसदबाट बस्नेत हाँसोको पात्र बने । सांसद पार्वता डिसी चौधरीले आफू भक्तपुरकै बालकोट बस्ने गरेको र पाँच मिनेटमै बालकोबाट बानेश्वरस्थित संसद भवन आइपुगेको बताइन् ।
‘बालकोटबाट आउँदा ५ मिनेटमा आइपुगें बाटो खुला थियो’, चौधरीले भनिन् ।
लगत्तै कांग्रेसकी अर्की सांसदले पनि बस्नेतलाई जवाफ फर्काइन् ।
‘म वनस्थलीबाट यहाँ सदन आइपुग्दा १ घण्टा लाग्थ्यो आज २० मिनेटमा आइपुगें’, कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘वनस्थलीतर्फ रुटका गाडी सबै कोटेश्वर गएका रहेछन् ।’
शाही बोलेपछि भने संसदमा हाँसो फैलियो ।