
काठमाण्डु,३ वैशाख – नेकपा (एमाले) नवौँ महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिको आज बसेको बैठकले महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन गरेको छ ।
ती उपसमितिमा प्रचार, अर्थ, स्वास्थ्य, जनपरिचालन, संस्कृति, आवास, खाद्य, सुरक्षा, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन र अभिलेखन रहेको नेकपा (एमाले) प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।
बैठकले उपसमितिका संयोजकको समेत चयन गरेको छ । प्रचार उपसमितिका संयोजक पार्टी प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली, सुरक्षा उपसमितिका संयोजक सचिव विष्णु पौड्याल, आवास उपसमितिका संयोजक सचिव गङ्गालाल तुलाधर, प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक सचिव युवराज ज्ञवाली, अर्थ उपसमितिका संयोजक पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे र अथिति सत्कार उपसमितिका संयोजक केन्द्रीय सदस्य भीम रावल रहेका छन् ।
त्यसैगरी, जनपरिचालन उपसमितिका संयोजक केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, स्वास्थ्य उपसमितिका संयोजक केन्द्रीय सदस्य योगेश भट्टराई, संस्कृति उपसमितिका संयोजक वाचस्पति देवकोटा, खाद्य उपसमितिका संयोजक केन्द्रीय सदस्य मुकुन्द न्यौपाने र अभिलेखन उपसमितिका संयोजक नेत्री विन्दा पाण्डे छन् ।
महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक पार्टी महासचिव ईश्वर पोखरेलले आगामी चैत १० गतेसम्म उपसमितिका संयोजकहरुलाई समग्र कार्ययोजना ल्याउन मितिसमेत तोक्नुभएको प्रचार विभाग प्रमुख ज्ञवालीले जानकारी दिए ।
एमाले नवौँ महाधिवेशन आगामी जेठ २४ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ ।