
चितवन, ३ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका छविलाल पौडेल र भिष्मराज पौडेलको बयान सकिएको छ ।
जिल्ला अदालत चितवनले मंगलबार र बुधबार उनीहरुसँग बयान लिएको हो । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ ।
जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलासमा भएको मुद्धामा सरकारका तर्फबाट जिल्ला न्यायाधीवक्ता एकनारायण लम्साल र प्रतिवादीका तर्फबाट २६ अधिवक्ताले बहस गरे ।
प्रतिवादीका तर्फबाट रमणकुमार श्रेष्ठ, विश्वप्रकाश भण्डारीले, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान, रमेशकुमार मैनाली र प्रेमसिंह धामीलगायतले बहस गरेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार विद्याराज पौडेलले बिहीबार पनि बहस जारी रहने बताए ।
अधिकारी हत्या आरोपमा संलग्न १३ जनालाई सर्वश्वसहित जन्म कैदको माग दाबी गर्दै चार दिनअघि जिल्ला सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
पौडेलद्वयको बयान जारी रहेका बेला एकीकृत माओवादी कार्यकर्ताले अदालतको मुल गेटमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।