जनकपुरमा भारतीय डाकालाई प्रहरीले गोली ठोक्यो

काठमाण्डु टुडे २०७६ जेठ ९ गते ११:३० मा प्रकाशित

जनकपुर, ९ जेठ – जनकपुरधाममा प्रहरी र डाकाबीच मुठभेड हुँदा एक जना घाइते भएका छन् ।

डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइएको छ ।

जनकपुरधाम–८ स्थित विहारकुन्डमा डकैती गर्ने उद्धेश्यले आएका उनीहरूमध्ये एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् ।

घाइते डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिएका छन् ।

यसैगरी आठ जनाको समूहमा रहेका उनीहरू सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको पालले जानकारी दिए ।

डिआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

विहारकुन्डका महन्थले हालसालै बेचेको जग्गाको पैसा लुट्ने उद्धेश्यले भारतीय डाकाको समूह आएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका उनीहरू भारतमा समेत लुटपाटजस्ता आपराधिक घटनाहरूमा संलग्न रहेको बताइएको छ ।जनकपुरमा डकैती गर्नुपूर्व दिउँसो एक होटलमा बसेको र त्यहीँबाट योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us