राजा वीरेन्द्र र परिवारका नामको खर्बौंको सम्पत्ति कौडीको मूल्यमा दुरुपयोग

काठमाण्डु टुडे २०७६ जेठ ८ गते ६:५२ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाण्डु उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यवसायिक प्रतिष्ठानलाई दिइएको छ ।

अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत वर्षेनी ७ करोड रुपैयाँ उठाउँदै आएको छ ।  राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ । ‘धेरैमा ६/७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए । ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो ।
उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ । २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (२ करोड ६४ लाख रुपैयाँ) ट्रस्टलाई बुझाउँछ । उक्त जग्गा एलएम सुविर ब्रदर्श नेपाल) प्रालि र यति होडल्डिङ्स प्रालिले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्ष लिजमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us