
नवलपरासी, ७ जेठ– पाँचथरको विकट मिक्लाजुङमा दुई परिवारका ९ जनाको सामूहिक हत्या भएको विषयमा त्यहाँका प्रमुख जिल्ला अधिकारीले मुख खोलेका छन् ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले प्रारम्भिक अनुसन्धानले घटनामा नजिकका आफन्तकै संलग्नता रहेको देखाएको बताए । घटनामा संलग्नताको आशंका गरिएका युवक मनबहादुर माखिमले समेत लिम्बा भन्ने स्थानमा रुखमा झुण्डिएर आत्महत्या गरेपछि घटनामा नयाँ ‘ट्वीस्ट’ भएको छ । वस्तीले त्यस्तो प्रकृत्तिको घटना आफूले देखेको मात्र नभई नसुनेको समेत बताए । ‘यो कल्पनै गर्न नसकिने विभत्स, क्रुर र कल्पनाबाहिरको घटना हो’, वस्तीले भने, ‘यो घटनाले समाज आपराधिकरण बढेको देखाउँछ ।’ वस्तीले पारिवारिक विवादले ठूलो रुप लिँदै जाँदा आवेशमा आएर घटना घटाएको उल्लेख गरे । पारिवारिक विवादबारे समयमै सुरक्षा निकायलाई जानकारी गराइएको भए त्यस्तो अप्रिय अवस्था आउनबाट रोक्न सकिने उनको भनाइ थियो ।
‘विवादबारेमा यदि पहिल्यै सुरक्षा निकायलाई जानकारी भएको भए यस्तो दुःखद घटना नहुन पनि सक्थ्यो’, उनले भने । वस्तीले एसएसपीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीलेले छानबिन थालेको र काठमाण्डुबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली पनि आउने जानकारी पाएको बताए । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।