भ्रष्टाचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्‍जमा आयोजित प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिमको समापनमा गृहमन्त्री थापाले यस्तो बताएका हुन् । थापाले सरकारले राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई समेत निस्तेज र नियन्त्रण गर्ने सरकारको नीति रहेको स्पष्ट पारे ।

राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक र उपअनुसन्धान निर्देशकहरुको लागि उक्त तालिम सञ्‍चालन भएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सवै सुरक्षा निकायले निर्वाह गर्नुपर्ने आआफ्नो भूमिका अक्षरस पालना गरी फिल्डमा उतार्न प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको बताए ।

मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवम् राष्ट्रिय सुरक्षाको बिषयमा बिभिन्न चुनौतीहरुको सामना गर्न सवै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेको खनालले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us