वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस हेरेको हेरै

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २४ बैशाख – कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको थियाे । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका थियाे ।

कांग्रेसका सांसद मीनबहादुर विकले ध्यानाकर्षण गराउँदा सभामुखले ध्यान नदिएको भन्दै कांग्रेस सांसदहरुले सदन अवरोधको प्रयास गरेका थिए ।

कांग्रेसका सांसदहरुले उठेर विरोध जनाइरहेकै समयमा सभामुख महराले नीति तथा कार्यक्रमको प्रक्रिया अगाडि बढाएका थिए ।

संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गरे । उनले एउटा व्यक्तिका लागि नागरिक झुक्नुपर्ने, संसद झुक्नुपर्ने अवस्था आउन नहुने बताए ।

सदन अवरोधको प्रयासपछि प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘प्रश्नको जवाफ चाहियो कि चाहिएन ? मर्यादित ढंगको व्यवहार प्रयोग गर्नुस् ।’

प्रधानमन्त्री ओलीले काँग्रेसका सांसदहरुले अपशब्द बोलेको भन्दै रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे । प्रधानमन्त्रीले रोष्टममा बोलिरेका बेला प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि काँग्रेसका सबै सांसदहरु आ–आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए ।

सभामुख महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे । सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे ।

उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे । काँग्रेस सांसदहरुका नाराबाजीकाबीच प्रधानमन्त्री केपी ओलीले द्धन्द्धकालीन घटना समाधानका लागि सरकारले काम गरिरहेको बताएर आफ्नो जवाफ सकिएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us