लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो यादव नेतृत्वको जसपा नेपाल

काठमाण्डु टुडे २०८२ असार १३ गते १७:५३ मा प्रकाशित

काठमाण्डू, १३ असार– लुम्बिनी प्रदेश सरकारबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल बाहिरिएको छ । आज (शुक्रबार) मात्रै जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएको काफ्ले बताइन् ।

८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन् । पार्टी विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us