
काठमाण्डू, १३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तत्कालै पार्टी अध्यक्ष पद नछाड्ने भएका छन । आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष नेपालले यसबारे जानकारी गएका हुन । नेपालले पतञ्जली जग्गा प्रकरणको बारेमा विस्तृत रूपमा धारणा समेत राखेका छन् ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको छैटौं सचिवालय बैठकले पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष बैठकले निकालेको छ ।
उनले भने, ‘हाम्रो पार्टीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहारहरू हुँदै आएको छ र अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा लगाइनुलाई यसको शृङ्खलाकै रूपमा रहेको हाम्रा नेताहरूले बैठकमा धारणा राखेका छन् । ’ ज्वालाले पार्टी अध्यक्षकै रूपमा नेपालले बैठकको अध्यक्षता गरिरहेको र संसदीय दलको नेताबारे संसदीय दलकै बैठकबाट निर्णय गरिने बताए ।
बैठकमा अध्यक्ष नेपालले सरकारले प्रधानमन्त्री, मन्त्री र शक्तिशाली नेताहरूको क्षेत्रमा मात्र बजेट केन्द्रित गरेर प्राथमिकतामा पर्नुपर्ने क्षेत्रलाई बजेटविहीन बनाएको कुरा राखेको उनले जानकारी दिए ।
‘सरकारले एकप्रकारले लुट्ने खालको बजेट ल्याएको छ, विदेशमा रहेका नेपालीहरू असुरक्षित रहेका छन् । महंगी बढेका छन्, यिनै समसामयिक विषयमा अध्यक्षले कुरा राख्नुभयो, ‘उहाँले पतञ्जलि जग्गा प्रकरणको बारेमा विस्तारमा ब्रिफिङ पनि गर्नुभयो ।’