एकीकृत समाजवादीको सचिवालय बैठकः नेपालको अध्यक्ष पद र दलको नेता बारे छलफल

काठमाण्डु टुडे २०८२ असार १३ गते १८:०० मा प्रकाशित

काठमाण्डू, १३ असार– आज (शुक्रबार) पार्टी मुख्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपालको अध्यक्ष पद र दलको नेता के हुने भन्नेबारे छलफल भएको छ ।

आलोकनगरमा बसेको छैटौँ केन्द्रीय सचिवालय बैठकमा नेताहरूले यसबारे प्रश्न गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिएका छन । उनले भने, ‘मुद्दाका सन्दर्भमा वक्ताहरूले आफ्ना कुरा राख्नुभयो । खासगरी पतञ्जली प्रकरणमा पार्टी अध्यक्षलाई फसाउने योजनाले मुद्दा दर्ज गरियो । सबै वक्ताहरूको निष्कर्ष हाम्रो पार्टीमा पहिलेदेखि षड्यन्त्रको शृङ्खलाका रूपमा झुटो मुद्दा लगाएको निष्कर्ष छ, ‘यो हाम्रो पार्टी र सादगी हाम्रो पार्टी अध्यक्षलाई मुद्दा लगाउनु षडयन्त्र र योजनाबद्ध छ भन्ने निष्कर्ष छ ।’

ज्वालाले नेपालमाथि मुद्दा लागे पनि अध्यक्षकै हैसियतमा रहने र दलको नेताको हकमा दलको बैठक बसेर निर्णय हुने जानकारी समेत गराएका छन । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको विश्लेषण, पार्टी कमिटीको अधिवेशनको समीक्षालगायत एजेन्डा तय भएका थिए । तिनै एजेन्डामा छलफल सुरु भएको र भोली पुन बस्ने ज्वालाले जानकारी गराए ।

बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ । जसमा उखु उत्पादक किसानलाई अनुदान बन्द गरेकोमा सरकारलाई उक्त निर्णय फिर्ता गर्न सरकारसँग माग गरेको भने रोपाईंका बेला किसानलाई मल अभाव भएकाले अविलम्ब मल वितरण गर्न माग गरेको छ । त्यस्तै अधिक वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विपत् पूर्व तयारी गर्न र साधन स्रोतको उचित व्यवस्था गर्न माग पनि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us