
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग ‘जुनसुकै मौसममा गाउने गीतजस्तै भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले संविधान संशोधनको माग गर्ने दलसँग बसेर कुरा गर्न सरकार तयार रहेको स्ष्ट पारेका छन् ।
‘संविधान संशोधन र सर्वस्वीकार्यताको कुरा उठेको छ’ मंगलबार प्रतिनिधिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक छ, संविधान भनेको असंशोधनीय दस्तावेज होइन, तर यो जुनसुकै मौसममा गाउने गीत जस्तो भयो, अहिले पनि संशोधन, भरे पनि संशोधन । बसेर कुरा गरौं न, केका लागि संशोधन ?’
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने आफ्नो पुरानो भनाइ प्रधानमन्त्री ओलीले संसदमा पनि दोहोर्याए । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्श्नको जावफ दिने क्रममा रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले भने, ‘संविधान असंशोधनीय दस्तावेज होइन । यसमा संशोधन गर्नुपर्ने ठाउँहरु हुन्छन् । ०७२ साल मंसिरमा सुशील कोइरालाका पालामा पहिलो संशोधन भएको थियो । यति भएपछि पुग्ने भनेर संशोधन गरिएको हो, तर भएन ।’
प्रधानमन्त्री ओलीले औचित्य र आवश्कताका आधारमा संविधान संशोधन हुन सक्ने बताए । उनले भने, ‘तर एउटा सेक्टरका लागि मात्र होइन, देशका लागि, जनताको एकतालाई सुदृढ गर्ने, साम्प्रदायिक विद्वेष खत्तम गर्ने उद्देश्यका लागि जहिले पनि संशोधन हुन सक्छ ।’
तर, अहिले सार्वजनिक खपतका लागि संविधान संशोधनको कुरा उठिरहेको प्रधानमन्त्री ओलीले दाबी गरे । राजपा लगायतका नेताहरुले संसदमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यो पब्लिक कन्जम्सनका लागि जस्तो भयो । संशोधन गर्न नसकिने होइन । तर, यो कुनै लहडको विषय होइन । अनावश्यक ढंगले उछालिरहने विषय पनि होइन ।’
विभिन्न दलका भनाइहरु के हुन्, त्यसमा छलफल गर्न सकिने बताउँदै प्रधानमन्त्रीले भने, ‘तर, राम्रो उद्देश्यका लागि हुनुपर्छ ।’
राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको मुद्दा उठाउँदै आइरहेको छ । सरकारमै रहेको उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले पनि संविधान संशोधन हुनुपर्ने बताउँदै आएको छ ।