प्रधानमन्त्री न्यायाधीश बन्न खोजेः बालकृष्ण खाँड

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १३:५० मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

भ्रष्टाचार नियन्त्रण गर्छु, सुशासन कायम गर्छु भनेर प्रधानमन्त्री कहिल्यै नथाक्ने भन्दै उनले तर व्यवहारमा भने भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई न्यायाधीश जसरी उन्मुक्ति दिने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले खुलामञ्च, बालुवाटार अर्केले लगिसकेको र वाइडबडीका बारेमा अझैसम्म सरकारले केही नगरेको बरु उल्टै त्यस्ता काण्डमा संलग्न आरोप लागेकालाई प्रधानमन्त्रीले नै निर्दोष छ भन्दै बचाउन लाग्नु आपत्तिजनक काम भएको बताए ।

नेता खाँडले ठूलाठूला प्रकरणमा मुछिएकाहरुलाई निर्दोष भन्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भन्दै प्रश्न गरे ।

‘प्रधानमन्त्रीलाई न्यायिक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायिक फैसला गर्ने अधिकार नै छैन, उसले फलानोमा निर्दोष । बालुवाटार जग्गामा निर्दोष । वाइडवडीमा निर्दोष भन्न पाउँछ,’ उनले प्रश्न गरे ।

नीति तथा कार्यक्रममा गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव पनि दिएका हुन् ।

संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक–पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उनले आपत्ती जनाए । संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संसोधन गर्न माग पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us