
काठमाण्डु, २२ वैशाख – राष्ट्रिय जनता पार्टी(राजपा)का नेता राजेन्द्र महतोले नीति कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्द परिमार्जन गर्न आग्रह गरेका छन् ।
सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान नागरिकको माग अनुसार अझै संशोधन नभएकाले संशोधन गरेर सबैको सर्वस्वीकार्य गराउनुपर्ने आवश्यक रहेको पनि बताए ।
नीति तथा कार्यक्रमको बुँदा नम्वर ७ को अन्तिम वाक्य संविधानलाई सर्वस्वीकार्य र पूर्णता दिन नागरिकको भावना अनुसार संशोधन गरिने छ भन्ने शब्दावली राखेर संशोधन गर्न पनि प्रस्ताव गरे ।
आफूहरुले पटक पटक संविधान संशोधन गर्न आवाज उठाउँदै आएको र सरकारमै सहभागिहरुले संशोधनको आश्वासन दिएकाले संशोधन नै नहुँदै सर्वस्वीकार्य भएको भनेर दावी गरिनुले आफूहरुलाई सशंकित बनाएको बताए ।
‘नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो र ? त्यो त नहुनु पर्ने, तर त्यस्तै पो भयो,’ उनले भने ।