राणा शासकका छोरा नाति गरिबः पैसा नभएपछि बैठक कक्षका मार्बलसमेत बिक्री

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते ६:४४ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– शहीद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा शहीद गेटमा मार्बलबारे उल्लेख नै थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले ‘फिनिसिङ राम्रो गर्नुप-यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो’ भनेपछि तत्कालीन राजा महेन्द्रले ‘हुन्छ’ भने र सिङ्गमरमर टाँस्ने योजना बन्यो ।

तत्कालै मार्बल ल्याउनुपर्ने भयो । बजेट पनि कमै थियो । सस्तो मार्बल खोज्ने क्रममा कुनै राणाजीको दरबारको बैठक कक्षमा रहेको मार्बल उपलब्ध हुनसक्यो र प्रयोग भइसकेका तिनै पुराना मार्बल ल्याई टाँसियो । ‘सस्तो मार्बल खोज्दै थियौँ । ब्रोकरले सस्तोमा मार्बल उपलब्ध गराइदिने भने । हामीले हुन्छ भन्यौँ’, शहीद गेटका डिजाइनर (इन्जिनियर) शङ्करनाथ रिमालले त्यस बखतको घटना स्मरण गर्दै भने, ‘ती ब्रोकरले राणाको दरबारबाट उप्काएर ल्याइएको हो भने । हामीले पनि कुन राणाको हो भनेर सोधीखोजी गरेनौँ ।’
तिनताका काठमाण्डुको जग्गाको भाउ खासै थिएन । सरकारले सम्पत्तिमा तीन प्रतिशत कर लगाइदिएको थियो । करका कारण कतिपय राणालाई जीविकोपार्जन गर्न समस्या पर्दै गएको पनि थियो । ‘करले राणाजीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । जग्गाको खासै भाउ थिएन । त्यसैले उनीहरूले बैठकका मार्बल, फर्निचर आदि बेच्न थाले’, उनले थपे, ‘ उनीहरूले सस्तोमा मार्बल बिक्री गर्दा त्यसले काम दियो ।’ गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us