प्रमुख निर्वाचन आयुक्तले गरे यस्तो प्रतिबद्धता

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरू निष्‍पक्ष निर्वाचन गराउनेतर्फ केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले शनिबार राजधानीमा गरेको अभिनन्दन समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताए ।

निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनीय बनाएर मात्रै मुलुकमा सुशासन कायम हुन सक्ने भन्दै उनले सम्पूर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिबद्धता जाहेर गरे ।

निर्वाचनमा निष्ठा र इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाइनुपर्ने तर्क गरे ।

उनले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे । उनले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us