
बुटवल, ७ बैशाख – शनिबार जितगढी विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय नेताहरु दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन ।’
ओलीले राप्रपा र विप्लव समूहतर्फ संकेत गर्दै कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको भन्दै संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेकाले त्यस्ताको वहकावमा नलाग्न आग्रह गरेका छन् ।
मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै उनले अब अल्मलिन नसकिने बताए । नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए ।
नेपाली सेनाको प्रशंसा गरेका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने धारणा राखे ।