निर्मला हत्याबारे देउवाले मुख खोले

–प्रकाश सिलवाल २०७६ वैशाख ७ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, ७ बैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।

कांग्रेस काठमाण्डु क्षेत्र नं ५ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताए ।

‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ’, उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै उनले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । ‘पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न सक्दैन’, उनले भने, ‘वर्तमान सरकार संघीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो ।’

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए । कांग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताए । राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले कांग्रेसले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसद्मार्फत् सरकारले गरेका गलत क्रियाकलापको खबरदारी गरिरहेको बताए ।

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताए । ‘जागरण अभियानलाई स्पष्ट ढंगले अगाडि नबढाएसम्म पार्टी बलियो हुन सक्दैन’, उनले भने । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका जिल्लासभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us