
बुटवल, १७ चैत– एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एमालेको नेतृत्व संसदीय दलका नेता केपी शर्मा ओलीले गर्ने बताएका छन् ।
एमाले लुम्बिनी अञ्चल समन्वय कमिटिद्वारा सोमबार बुटवलमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा गौतमले नवौं महाधिवेशनबाट ओलीले नेतृत्व लिनुपर्ने बताएका हुन् ।
आम कार्यकर्ताले विश्वास गरेको नेता भन्दै उनले पार्टीलाई शसक्त र नयाँ ढंगले अघि बढाउन ओलीको नेतृत्व आवश्यक रहेको बताए । अध्यक्ष झलनाथ खनालले अबको नेतृत्व ओलीले गर्ने बताइसकेको र वरिष्ठ नेता माधवकुमार नेपालले १६ वर्षभन्दा बढी पार्टी चलाइसकेकाले ओलीको नेतृत्व जरुरी रहेको जिकिर उनको थियो ।
देशभरका कार्यकर्ताको भावना ओलीले पार्टी हाँक्नुपर्छ भन्ने रहेको दाबी गर्दै गौतमले नेतृत्वका लागि लोभी नबन्न खनाल र नेपाललाई आग्रह गरे ।