
काठमाण्डु, १७ चैत – ऊर्जामन्त्री राधा ज्ञवालीले मुलुकमा जारी ऊर्जा संकटको समाधानका लागि सबैको साथ र सहयोग अत्यावश्यक रहेको बताएकी छिन् ।
सामुदायिक रेडियो प्रसारक संघको ज्ञापनपत्र बुझ्दै उनले जादुको छडी जस्तो तत्कालै ऊर्जा संकट समाधान गर्न नसकिने भएकाले सबैको साथ र सहयोग रहनुपर्ने बताईन् ।
विगतमा गलत नीति अख्तियार गरिएका कारण मुलुक ठूलो संकट बेहोर्न वाध्य भएको सन्दर्भ जोड्दै उनले आगामी तीन वर्षभित्र मुलुकलाई कमसे कम लोडसेडिङ मुक्त गर्न सकियो सकिए त्यहि सुखद् हुने बताईन् ।
आर्थिक उन्नतिका लागि पनि उल्लेख्य मात्रामा विद्युत उत्पादन गर्नुपर्नेमा उनको जोड छ ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री ज्ञवालीलाई चार बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
सो ज्ञापनपत्रमा विद्युत आपूर्तिमा रहेको कठिनाइका कारण सबै भन्दा चर्को मारमा सामुदायिक रेडियो परेको भन्दै अस्पताललगायतका केही महत्वपूर्ण क्षेत्रमा उपलब्ध गराएको आकस्मिक लाइन पायक पर्ने रेडियोमा उपलब्ध गराउन स्थानीय विद्युत प्राधिकरणलाई नीतिगत निर्देशन दिन माग आग्रह गरिएको छ ।
यस्तै, स्थानीय रुपमा हुने विद्युत् चुहावट तथा चोरीलाई नियन्त्रण गर्न प्रचारप्रसारको खाँचो देखिएको भन्दै स्थानीय सामुदायिक रेडियोहरूबाट सार्वजनिक हितका लागि सूचना प्रसारण गर्न ऊर्जा मन्त्रालयले सूचनाका लागि छुट्टयाएको रकम सामुदायिक रेडियो प्रसारक संघमार्फत उपलब्ध गराउन पनि माग गरिएको छ ।
सामुदायिक रेडियोलाई विद्युत् शुल्कमा कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था बजेटमार्फत गर्न, प्राधिकरणले लिने न्यूनतम शुल्क पूर्णरुपमा मिनाहा गर्न, प्राधिकरणले नागरिकका बीचमा पुर्याउनुपर्ने सूचना सामुदायिक रेडियो मार्फत प्रसारण गर्न जिल्लास्थित प्राधिकरण कार्यालयलाई नीतिगत निर्देशन दिनसमेत संघले माग गरेको छ ।