पर्वत, १७ चैत – उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताएका छन् ।
कुस्मामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी चुनाव गर्नुपर्नेमा जोड दिए ।
स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्री पनि सकारात्मक रहेको बताउँदै उनले नयाँ संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन गरिने ठोकुवा गरे ।
‘सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुनेछ, काँग्रेसले जनतासामु गरेको वाचा पूरा गरेरै छाड्छ,’ उनले भने, ‘हामीले एक वर्षभित्र संविधान बनाउने भनेका थियौँ, त्यहीअनुसार संविधान बनाउन भूमिका खेल्छौँ ।’
मन्त्री सिंहले उच्चस्तरीय राजनीतिक समितिले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । अर्को एक प्रसंगमा उनले पार्टीलाई बलियो बनाउनका लागि सम्पूर्ण कार्यकर्तालाई एक जुट भएर लाग्न आग्रह गरे ।
साथै उपप्रधानमन्त्री सिंहले सरकारी कार्यालयका प्रमुखलाई जनतालाई सेवा दिनका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशनसमेत दिएका छन् ।