पटके गिरफ्तारीले फुजेल प्रकरण सुल्झिन्न : भट्टराई

काठमाण्डु टुडे २०७० चैत १७ गते ९:३५ मा प्रकाशित

Baburamचितवन, १७ चैत – एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोगले मात्र गर्न सक्ने बताएका छन् ।

फुजेल घटनापीडित परिवार संघर्ष समितिले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका भट्टराईले कृष्ण अधिकारीलगायतका सबै द्वन्द्वकालीन घटना पटके गिरफ्तारीबाट समाधान नहुने धारणा राखे ।

क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आयोग गठनका लागि विभिन्न बाधा व्यवधान भएको भन्दै अध्यादेशमार्फत संसद्बाट कानुन बनाएर आयोग गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

केही दिनभित्र सदनमा विधेयक पेस गरी आयोग गठन हुने बताउँदै डा. भट्टराईले आयोग बनेसँगै सत्यतथ्य बुझेर समाजमा मेलमिलापको वातावरण सिर्जना हुने बताए । जघन्य मानवता विरोधी घटना भए कानुनमार्फत समाधान हुनसक्ने उनको भनाई छ ।

विसं २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म मारिएका १५ हजारमध्ये १२ हजार माओवादी रहेको भन्दै नेता भट्टराईले ती द्वन्द्वकालीन घटना ब्युउँताउनुभन्दा समाधानको बाटोतर्फ लाग्नुपर्ने बताए । ‘त्यसबेला काँग्रेस–एमाले सत्तामा थिए, हामीले कसलाई मुद्दा लगाउने ?’ भट्टराईको प्रश्न छ ।

एक फरक प्रसङ्गमा नेता भट्टराईले पार्टीलाई नयाँ ढंगबाट रुपान्तरण गर्ने बताए । समाजवादी क्रान्तिको दिशातर्फ पार्टी गएको भन्दै उनले नीति र नेतृत्व सामूहिक ढङ्गले गरिने उल्लेख गरे । नेकपा–माओवादीसँगमात्र नभएर वामपन्थी, देशभक्त र गणतन्त्रवादी सबैलाई एक बनाएर लैजाने तयारीमा आफ्नो पार्टी रहेको उनले बताए ।

नेकपा–माओवादीसँग तत्काल एकीकरणभन्दा पनि केही विषयमा कार्यगत एकता गरेर जाने उनको भनाइ छ । पुँजीवादी क्रान्ति सापेक्ष रुपमा अघि बढेको भन्दै उनले समाजवादी क्रान्तितर्फ पार्टी अगाडि बढ्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us