गगन थापा भन्छन, ‘बाबुरामको पार्टीमा जान्न’

काठमाण्डु टुडे २०७० चैत १७ गते १२:४३ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, १७ चैत – काँग्रेस युवा नेता गगन थापाले आफू एकीकृत माओवादी नेता बाबुराम भट्टराईले गठन गर्ने भनिएको नयाँ शक्तिमा सामेल हुन नसक्ने बताएका छन् ।

थापाले आफूले काँग्रेसबाटै राजनीति थालेको र आजीवन काँग्रेस नै भएर राजनीतिमा सक्रिय हुने बताए । ‘म काँग्रेसको प्रतिबद्ध सदस्य हुँ, मेरो निष्ठा काँग्रेससँग जोडिएको छ’, काठमाण्डु टुडेसँग थापाले भने, ‘बाबुरामजीको नयाँ शक्तिमा सामेल हुन सक्दिन ।’

माओवादी नेता भट्टराईले पछिल्लो समय मुलुकका लागि नयाँ शक्तिको खाँचो रहेको र त्यसको नेतृत्व आफूले गर्ने बताउँदै आएका छन् । भट्टराईले आफू निकटष्थहरुसँग काँग्रेसका थापा र मालेका रवीन्द्र अधिकारीजस्ता स्थापित र जुझारु युवा नेतालाई समेटेर भारतको आम आदमी पार्टीजस्तै नयाँ शक्ति बनाउने बताउने गरेका छन् ।

थापाले आफू आम आदमी पार्टीजस्तो नयाँ शक्तिमा नभई २००७ सालतिरको प्रगतिशील विचार बोक्ने काँग्रेस बनाउन अग्रसर हुने स्पष्ट गरे । ‘म अर्को आम आदमीमा होइन, २००७ सालतिरको जस्तै ‘प्रोगेसिभ’ काँग्रेस बनाउने अभियानमा सक्रिय हुन्छु’ उनले भने ।

तर काँग्रेस, एमाले र एकीकृत माओवादीलाई सुधार्न नयाँ शक्तिले दबाबको काम गर्ने सक्ने उनको बुझाइ छ ।

थापाले नयाँ शक्तिको जन्म हुने अवस्थामा कोही आत्तिन नपर्ने उल्लेख गरे । ‘नयाँ शक्तिको जन्म भयो भने काँग्रेस, एमाले र एमाओवादीलाई सुध्रन दबाब पुग्छ’, थापा भन्छन्, ‘यसले मुलुक र जनतालाई के घटा गर्छ र ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us