सबैको सहमतिमा स्थानीय निर्वाचन : देउवा

काठमाण्डु टुडे २०७० चैत १७ गते ७:१४ मा प्रकाशित

sher-bahadur-deubaकञ्चनपुर, १७ चैत – पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमति हुन नसकेका कारण निर्वाचनको मिति नतोकिएको बताए । काँग्रेसले जनतासामु गरेको वाचा पूरा गर्ने उनको प्रतिबद्धता छ ।

‘हामीले एक वर्षभित्र संविधान बनाउने भनेका थियौँ, त्यहीअनुसार संविधान बनाउँछौँ, केही दिन तलमाथि हुनसक्छ,’ उनले भने ।

सञ्चारकर्मीको प्रश्नको जवाफमा नेता देउवाले उच्चस्तरिय राजनीतिक संयन्त्रले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे ।
‘राजनीतिक संयन्त्रले संविधानसभा र सरकारबीच समन्वयको भूमिका निर्वाह गर्छ,’ देउवाले भने ।
महाकालीमा पक्की पुल निर्माणका लागि पहल गर्ने आश्वासन दिँदै उनले त्यसका विषयमा भारतीय राजदूतसित कुरा गर्नेसमेत बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us