एक वर्षभित्रै संविधान बन्छ : बडू

काठमाण्डु टुडे २०७० चैत १६ गते १२:४२ मा प्रकाशित

Dilendra-baduकाठमाण्डु, १६ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले एक वर्षभित्रै संविधान बन्ने वातावरण तयार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाण्डुद्वारा नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी तथा पार्षद्को सम्मानमा आयोजित कार्यक्रममा उहाँले प्रमुख दलबीच सहमति भई संविधानसभामा समितिहरुको गठन र विगतको संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गर्ने प्रस्ताव संविधानसभाबाट पारित भएर अब एक वर्षभित्रै संविधान बन्ने वातावरण तयार भएको बताए ।

कार्यक्रममा सभासद् एवम् काठमाण्डु काँग्रेसका सभापति भीमसेनदास प्रधानले एक वर्षभित्र संविधान बनाउन सञ्चार माध्यमको पनि ठूलो भूमिका रहने भएकाले दलहरुलाई निरन्तर सहयोग र दबाब दिइरहनु पर्ने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका केन्द्रीय अध्यक्ष किरणकुमार पोखरेल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, महासङ्घका पूर्व महासचिव पोषण केसी, युनियनका महासचिव शिव लम्साललगायतले सञ्चार क्षेत्रका समस्या र चुनौतीबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका तर्फबाट काठमाण्डु, ललितपुर र भक्तपुर महासंघमा विजयी कार्यसमिति सदस्य तथा पार्षद्लाई सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us