सभासद्को टिकट १९ लाखमा बेच्ने निस्काशन

काठमाण्डु टुडे २०७० चैत १६ गते ४:०४ मा प्रकाशित

UML Logo originalकाठमाण्डु, १६ चैत –संविधानसभाको निर्वाचनमा पार्टीले दिएको टिकट बेच्ने र किन्ने दुवै नेतालाई एमालेले निलम्बन गरेको छ ।

नेकपा एमाले वाग्मती अञ्चल कमिटिले पार्टीले दिएको टिकट दुरुपयोग गरेको निष्कर्ष निकाल्दै नुवाकोट जिल्ला उपाध्यक्षसहित एमाले केन्द्रीय शिक्षा विभाग सचिव तथा क्षेत्रीय उपाध्यक्षलाई निलम्बन गरेको हो ।

संविधानसभा निर्वाचनमा पार्टी अनुशासन, हित र निर्देशन विपरीत बदनियतपूर्ण काम गरेको भन्दै उपाध्यक्ष विन्दा ढुंगानालाई ६ महिनाका लागि जिल्ला कमिटी उपाध्यक्षबाट निलम्बन र शिक्षा विभाग सचिव बद्री मैनालीलाई पार्टी सदस्यता नै समाप्त हुने गरी निलम्बन गरेको छ ।

असोज १७ गते संविधानसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा ढुंगानाले आफ्नो नाममा पार्टीले पठाएको सिफारिस पत्र १९ लाख रुपैयाँको आफ्नो ऋण तिरिदिने सर्तमा क्षेत्रीय उपाध्यक्ष बद्री मैनालीलाई दिएकी थिइन् ।

मैनालीले ढुंगानाको नाममा टिपेक्स लगाएर आफ्नो नाम लेखेर क्षेत्र नं २बाट उम्मेदवारी दिएका थिए । मैनालीले क्षेत्र नं. ३ बाट समेत एमालेका नारायण खतिवडाविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए । सोही आधारमा अञ्चल कमिटीले मैनालीलाई साधारण सदस्यसमेत नरहेने गरी पार्टीबाट निस्काशन गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us