भ्रष्टाचार लुकाउन मूल्य वृद्धि !

काठमाण्डु टुडे २०७० चैत १५ गते ११:३६ मा प्रकाशित

imageकाठमाण्डु, १५ चैत – जानकारहरुले विभिन्न समयमा गरिएको मूल्य वृद्धि सरकारी संयन्त्रबाट हुने गरेको भ्रष्टाचार लुकाउने रणनीति भएको आरोप लगाएका छन् ।

संघीय समाजवादी पार्टीले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘लोककल्याणकारी राज्य र मूल्य वृद्धिको सवाल’ विषयक अन्तरक्रियामा बोल्दै जानकारहरुले यस्तो बताएका हुन् ।

सरकारले देखाउने गरेको मूल्य वृद्धिको प्रतिशत र जनताले भोग्नु परेको मुल्य वृद्धिमा आकास जमिनको फरक भएको उनीहरुको दावी छ ।

अर्थविद् डा. डिल्लीराज खनालले लोककल्याणकारी राज्यको अवधारणा समाजवादसँग जोडिएको भए पनि नेपालमा पूजीवादको प्रयोग बढी भएकोले मुल्य वृद्धिको मार खेप्नु परेको बताए ।

मूल्य वृद्धि सरकारले भ्रष्टाचार र निकम्मापन लुकाउन चालेको रणनीति भएको उनको आरोप छ ।

सरकारले मूल्य वृद्धिको विषयमा कम तथ्याङ्क निकाल्ने गरेको तर, जनताले बास्तविकतमा त्यो भन्दा बढी दोहोर अंकको मूल्य वृद्धिको मार खेपिरहेको खनालले बताए ।

यस्तै वैकल्पिक पेशाकर्मी महासंघका अध्यक्ष नयेन्द्र प्रधानले सरकारले मूल्य वृद्धिको प्रभावको विषयमा बुद्धिजीविहरुसँग सल्लाह नगरेको कारणले समस्या देखा परेको दावी गरे ।

यसैगरी डा. चन्द्रमणि अधिकारीले राज्यको अर्कमण्यताको सबैभन्दा ठूलो मार घर गृहस्थी गर्नेले खेपिरहनु परेको भन्दै समाजवादमा निर्भर अर्थतन्त्रको ब्यवस्था संविधानमा गरिएको भए पनि त्यो ब्यवहारमा लागु हुन नसकेको बताए ।

यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुलुक समाजवादतर्फ उन्मुख हुनु लागि आवश्यक भए पनि त्यसकालागि नीति, प्रक्रियामा बहस हुन नसक्नु दुखद् भएको बताए ।

कार्यक्रममा संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले संसारमा भूमण्डलीय साम्राज्यवाद विस्तार हुँदै गएको दावी गर्दै पूँजीवाद कि समाजवाद भन्नेमा लडाई जारी रहेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us