
पाल्पा, २ असार– पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च६७५६ नम्बरको जिप आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डअन्तर्गत भिरकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङका ४६ वर्षीय विनोद ढुंगाना र परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पाल्पा प्रहरीका डिएसपी सुनिल मल्लका अनुसार गम्भीर घाइते ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभास र अर्का मृतकको मिसन अस्पताल पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र त्यसबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।