
जनकपुरधाम, १५ चैत – भगवान् राम र सीताको विवाह प्रसङ्गसँग गाँसिएको धार्मिक स्थल मणिमण्डपको उत्खनन कार्य प्रारम्भ भएको छ । पुरातत्व विभागले सो स्थलको उत्खनन कार्य सुरु गरेको हो ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् रामले माता सीतासँग विवाह गरेको स्थलका रुपमा सो स्थान पुजनीय रहेको छ ।
जानकी मन्दिरको शिश महललाई राजा जनकको दरबारका रुपमा व्याख्या गरिन्छ । सो दरबारको क्षेत्रफल १५ कोस रहेको र सोही बमोजिम दरबारमा ५२ वटा गल्ली रहेको ग्रन्थहरुमा उल्लेख छ ।
विभिन्न सोधहरुले दरबारको बीच आँगनका रुपमा जनकपुुरको पिडारी गाउँलाई आधार बनाउने गरिन्छ र सोही बमोजिम राजा जनकले जानकीको विवाह गर्दा बीच आँगनमा मडवा निर्माण गर्न लगाएका थिए जसलाई मणिमण्डप भनिएको हो ।
पुरातत्व विभागका अधिकृत विष्णु पाठकले उत्खननपछि मणिमण्डप र वरिपरिका वस्तुहरुको महत्व र पौराणिकतालाई पुष्टि गर्ने बताए ।